गण्डकी प्रदेश सरकारको संगठन पुनर्संरचना तथा सेवा एकीकरण नीतिअनुसार साविक उद्योग तथा पर्यटन कार्यालयसामाजिक विकास कार्यालय लाई एकीकृत गरी मिति २०८२ मंसिर १७ गतेदेखि बागलुङमा एकीकृत सेवा कार्यालय स्थापना गरिएको हो। सेवाग्राहीमैत्री, प्रभावकारी र समन्वित सार्वजनिक सेवा प्रवाह गर्ने उद्देश्यले स्थापना भएको यस कार्यालयले साविक दुवै कार्यालयबाट सम्पादन हुँदै आएका सम्पूर्ण कार्यक्रम, योजना तथा सेवा-सुविधाहरू एकद्वार प्रणालीमार्फत सञ्चालन गर्दै आएको छ।

यस कार्यालयले औद्योगिक विकास, साना तथा घरेलु उद्योग प्रवर्द्धन, उद्यमशीलता विकास, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार सहकार्य, सामाजिक विकास, महिला तथा बालबालिका संरक्षण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लोपोन्मुख तथा सिमान्तकृत समुदाय लक्षित कार्यक्रमहरू लगायत सामाजिक न्याय र समावेशी विकाससँग सम्बन्धित विविध क्रियाकलापहरू कार्यान्वयन गर्दै आएको छ।

प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार जिल्लास्तरमा कार्यान्वयन हुने योजना, अनुदान, तालिम, अभिमुखीकरण, सहकार्य कार्यक्रम, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्यहरू यस कार्यालयमार्फत सम्पादन गरिन्छ। साथै स्थानीय तह, संघीय निकाय, सरोकारवाला संस्था तथा निजी क्षेत्रसँग समन्वय र सहकार्य गर्दै दिगो आर्थिक तथा सामाजिक विकासमा टेवा पुर्याउने दिशामा कार्यालय प्रतिबद्ध रहेको छ।

पारदर्शिता, जवाफदेहिता र सुशासनलाई मूल मन्त्रका रूपमा अंगीकार गर्दै सेवा प्रवाहमा गुणस्तर अभिवृद्धि, नवप्रवर्तन र नागरिक सन्तुष्टि अभिवृद्धि गर्नु यस कार्यालयको प्रमुख ध्येय हो।